काठमाडौं । अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको चुनौती समाप्त भएको छ । मंगलबार तेस्रो चरणको चौथो खेलमा भियतनामसँग १–० को पराजय बेहोरेसँगै नेपालको झिनो गणितीय सम्भावना सकिएको हो ।
मंगलबार हहो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालामा सम्पन्न खेलमा सेन्टरब्याक सुमन श्रेष्ठको आत्मघाती गोल भियतनामको जितमा निर्णायक बन्यो । खेलको पाँचौं मिनेटमा भियतनामको कर्नरलाई क्लियर गर्ने प्रयासमा सुमनबाट गल्ती भएको थियो । यसबाहेक गोलकिपर तथा कप्तान किरण चेम्जोङले भियतनामका आधा दर्जन गोलका अवसरलाई विफल पार्दा ‘स्कोरलाइन’को भिन्नता एक गोलमा सीमित भएको हो ।
मुसलधारे वर्षाका कारण ३० मिनेट पर धकेलिएको खेलमा नेपाललाई हिलाम्मे मैदानले गाह्रो बनाएको थियो । जहाँ नेपाललाई ‘पोसेसन’ कायम राख्न हम्मे भइरहेको थियो, भियतनामले एकपछि अर्को अवसर सृजना गरिरह्यो । तर, भियतनामको हरेक प्रयासमा किरण बाधक रहे । पहिलो हाफमा भियतनामका तीन प्रयासलाई विफल पारिदिएका किरणको खेल अन्तिम ४५ मिनेट पनि त्यस्तै रह्यो ।
पहिलो हाफको मध्यतिर फरवार्ड एनगुएन टाइन लिन्हले पेनाल्टी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिँदा भियतनामले अग्रतालाई दोब्बर बनाउन सकेन । ३१औं मिनेटमा अर्का फरवार्ड एनगुएन थान्ह न्हानको प्रहार पनि पहिलो बारमा लागेर बाहिरियो । उनले पनि पेनाल्टी बक्स भित्रबाटै गोलको ‘अटेम्प्ट’ गरेका थिए । निर्धारित हाफ सकिन दुई मिनेट बाँकी छँदा ट्रोउङ टाइन अन्ह गोलको निक्कै करिब रहे । आफ्ना सहकर्मीको सुन्दर थ्रु पासलाई सदुपयोग गर्दै बक्सभित्र बल अगाडि बढाएका ट्रोउङको अन्तिम प्रहार फितलो रहन पुग्यो । जसलाई बचाउन किरणलाई कुनै पनि अफ्ठ्यारो भएन । अन्तिम मिनेटमा टाइन अन्हको पासमा भान भीको हेडर त्यति शक्तिशाली नरहँदा किरणलाई फेरि पनि कुनै कठिनाई भएन ।
खेलको ६४औं मिनेटमा रक्षक ट्रोउङ टाइनको ब्याक पासमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एनगुएन डिन्ह बाकको प्रहार किरणले बचाए । तीन मिनेटपछि पेनाल्टी बक्स बाहिरबाट मणि लामाको शक्तिशाली प्रहारले दोस्रो बारको दिशा लिन सकेन ।
खेलको ७४औं मिनेटमा भियतनालाई भाग्यले साथ दिएन । रक्षक पेनडान्ट क्वाङ भिन्हको पासमा डिन्ह बाकको लोअर प्रहारलाई किरणले राम्ररी नियन्त्रणमा लिन सकेनन् । तर, बल पहिलो बारमा लागेर फर्कियो । फर्किएको बलले झण्डै दोस्रो बारको जाली चुमेको थियो । १० मिनेटपछि १००औं अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालका उप–कप्तान रोहित पौडेललाई बिट गर्दै फरवार्ड फाम जिया हुंगले गरेको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । एक मिनेट पनि बित्न नपाउँदै नेपाल सुन्दर अवसरमा चुक्यो ।
जिलेश्पीजंग कार्कीको स्थानमा मैदानमा प्रवेश गरेका दीनेश हेन्जन ‘वान भर्सेस वान’मा चुके । ‘डिफेन्सिभ लाइन’बाट अनन्त तामाङले दिएको लामो दूरीको पास खेर गयो । इन्जुरी समयमा मिडफिल्डर डुसी चीनको प्रहार किरढाले बताए । लगत्तै डुसीकै पासमा सिर्जित काउन्टर मुभलाई किरणले पेनाल्टी बक्सभन्दा माथि आएर क्लियर गरिदिए । अन्यथा हाइ लोङ गोलको नजिक थिए ।
तेस्रो चरणमा नेपालको यो लगातार चौथो हार हो । पाँच दिनअघि मात्र नेपालले भियतनामसँग ३–१ को हार बेहोरेको थियो । एक अंक पनि नजोडेको नेपालले १८ नोभेम्बरमा मलेसिया र २०२६ को मार्चमा लाओससँग दोस्रो लेग खेल्ने तालिका छ । चार खेलबाट ९ अंक जोडेको भियतनाम शीर्ष स्थानमा रहेको मलेसियालाई पछ्याइरहेको छ । मलेसियाले सबै चार खेलमा विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न चौथो खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो ।