काठमाडौं । सेन्टरब्याक सुमन श्रेष्ठको आत्मघाती गोलमा भियतनामले एएफसी एसियन कप छनोटमा नेपालविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।
मंगलबार हहो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालामा जारी खेलमा सुमनले खेलको पाँचौं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए । भियतनामको कर्नरलाई क्लियर गर्ने प्रयासमा सुमनबाट गल्ती भएको हो । यसबाहेक कप्तान किरण चेम्जोङले २–३ वटा राम्रो बचाउ गर्दा ‘स्कोरलाइन’मा एक गोलको भिन्नता मात्र देखिएको हो ।
खेल सुरु हुनुभन्दा एक घण्टाअघि परेको मुसलधारे वर्षापछि मैदान हिलाम्मे हुँदा नेपाललाई पोसेसन मेन्टेन गर्न गाह्रो भइरहँदा भियतनामले गोलका तीन सुनौला अवसर सृजना गर्यो ।
खेलको ३१औं मिनेटमा फरवार्ड एनगुएन थान्ह न्हानले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार पहिलो बारमा लागेर बाहिरियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा ट्रोउङ टाइन अन्ह गोलको निक्कै करिब रहे । आफ्ना सहकर्मीको सुन्दर थ्रु पासलाई सदुपयोग गर्दै बक्सभित्र बल अगाडि बढाएका ट्रोउङको अन्तिम प्रहार फितलो रहन पुग्यो । जसलाई बचाउन किरणलाई कुनै पनि अफ्ठ्यारो भएन ।
दोस्रो हाफमा गोल गर्न नसके नेपालको अर्को वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउने चुनौती सकिनेछ ।