काठमाडौं । इस्वातिनीविरुद्ध ३-० को सहज जित निकाल्दै केप भर्डे आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
केप भर्डे पहिलो पटक फिफा विश्वकपका लागि छनोट भएको हो । सोमबार राष्ट्रिय रंगशालामा घरेलु टोली कोप भर्डेलाई जित दिलाउन डेलोन लिभ्रामेन्टो, विली सेमेडो र स्टोपिराले गोल गरे ।
खेलको ४८औं मिनेटमा लिभ्रामेन्टोको गोलमार्फत केप भर्डेले अग्रता लिएको थियो । ५४औं मिनेटमा सेमेडोले टोलीको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा स्टोपिराले गोल गर्दै केप भार्डेलाई सहज जित दिलाए ।
जितसँगै १० खेलमा २३ अंक जोडेको केप भर्डे समूह ‘डी’ को शीर्ष स्थानमा रह्यो । केप भर्डे आगामी विश्वकपका लागि छनोट हुने छैटौं अफ्रिकन तथा समग्रमा २२औं राष्ट्र हो ।
यसअघि अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया र घाना, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।