काठमाडौं । स्ट्राइकर समीर कुमार चम्किँदा दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालले १० खेलाडीमा समेटिएको श्रीलंकाविरुद्ध २–० को जित हासिल गरेको छ ।
सोमबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दुबै गोल समीरले गरे । जितसँगै नेपालले सेमिफाइनल होडमा एक पाइला अगाडि सारेको छ ।
समीरले खेलको ५२औं मिनेटमा नेपाललाई ‘ब्रेक थ्रु’ दिलाएका थिए । लेफ्ट साइडबाट प्रतिश थापामगरको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेका समीरले हेडरमार्फत गोल गरे । उनको हेडरले पहिलो बारको जाली चुम्दा गोलकिपर शाथिन कथाफीले कुनै पनि प्रतिक्रिया जनाउन सकेनन् ।
इन्जुरी समयमा निश्चल मगरको सुन्दर थ्रु पासमा समीरले व्यक्तिगत दोस्रो गोल गरे । गोलकिपर शाथिन अगाडि बढेको स्थितिमा उनले बललाई पहिलो बारमा ‘प्लेसिङ’ गरेका थिए ।

समीरले दुई सुनौला अवसरलाई खेरा फाल्दा नेपालले पहिलो हाफमा अग्रता लिन सकेन ।
खेलको ३९औं मिनेटमा समीर गोलको निक्कै करिब रहे । सेन्टरब्याक तथा कप्तान प्रशान्त मोक्तानको ‘लङ पास’लाई विपक्षी रक्षक अहमद आमिस वासिमले राम्ररी नियन्त्रण गर्न नसक्दा बल समीरसम्म आइपुगेको थियो । तर, उनको लोअर प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो ।
पहिलो अवसरलगत्तै समीरले अर्को मौका खेरा फाले । मिडफिल्डर सुशन थापामगरले राइट साइडबाट दिएको कटब्याकमा समीरको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ३२औं मिनेटमा नेपाललाई भाग्यको साथ रह्यो । मिडफिल्डर आइरुशा जयाथुंगाको सुन्दर पासमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेको कप्तान इशाक मउफरको हेडर गोल हुन सकेन । इशाकको हेडर नेपाली गोलकिपर रामबहादुर बोहराले नियन्त्रणमा लिन सकेनन् । फुत्किएको बल दोस्रो बारमा ठोक्किएर बाहिरिएको थियो ।
खेलको २७औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
समूह ‘ए’ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो दिन मंगलबार समूह ‘बी’का दुई खेल हुनेछन् । पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा भुटान र पाकिस्तान भिड्नेछन् ।