काठमाडौं । सुनौलो अवसरलाई सदुपयोग गर्न नसक्दा दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपअन्तर्गत घरेलु टोली श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।
खेलको ३९औं मिनेटमा फरवार्ड समीर कुमार गोलको निक्कै करिब रहे । सेन्टरब्याक तथा कप्तान प्रशान्त मोक्तानको ‘लङ पास’लाई विपक्षी रक्षक अहमद आमिस वासिमले राम्ररी नियन्त्रण गर्न नसक्दा बल समीरसम्म आइपुगेको थियो । तर, उनको लोअर प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो ।
पहिलो अवसरलगत्तै नेपालले अर्को मौका खेरा फाल्यो । मिडफिल्डर सुशन थापामगरले राइट साइडबाट दिएको कटब्याकमा समीरको प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपाल पुनः अग्रता लिनबाट बञ्चित रह्यो ।
खेलको ३२औं मिनेटमा नेपाललाई भाग्यले साथ दियो । मिडफिल्डर आइरुशा जयाथुंगाको सुन्दर पासमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेको कप्तान इशाक मउफरको हेडर गोल हुन सकेन । इशाकको हेडर नेपाली गोलकिपर रामबहादुर बोहराले नियन्त्रणमा लिन सकेनन् । फुत्किएको बल दोस्रो बारमा ठोक्किएर बाहिरिएको थियो ।
दोस्रो हाफमा नेपाललाई ‘वान म्यान एड्भान्टेज’ रहनेछ । खेलको २७औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।