काठमाडौं । जेनजी आन्दोलनका कारण नेपाली फुटबलका सबैखाले गतिविधिहरू तत्कालका लागि स्थगित भएका छन् ।
गत सोमबार जेनजी युवाहरूले गरेको आन्दोलनपछि देशको राजनीतिले नयाँ बाटो समाइसक्दा फुटबलको माहोल फर्किन भने समय लाग्ने देखिएको हो ।
सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबबीच यु-१६ लिगको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
एन्फाका पूर्व अध्यक्ष एवम् हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा अन्य क्लबका पाधिकारीको टोली बैठकमा उपस्थिति भएका थिए ।
बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको उपस्थिति नहुने भएपछि शेर्पाको टोलीले अन्य पदाधिकारीसँग अन्तरक्रिया/छलफल गरेको थियो ।

एन्फाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, सहायक महासचिव बद्री भट्टराई तथा केन्द्रिय सदस्यद्धय पुरुषोत्तम थापा र विकासनारायण श्रेष्ठको उपस्थिति रहेको अन्तरक्रियाबाट अर्को सुचना नआएसम्मका लागि फुटबलका सम्पूर्ण गतिविधि बन्द हुने निचोड निकालिएको हो ।
जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनले देशमा नयाँ सरकार स्थापना गरिसकेको छ । आन्दोलनले तातेको माहोल शान्त भइसकेपछि नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले पूर्वघोषित सबैखाले घरेलु गतिविधि अनिश्चित कालका लागि स्थगित गरेको शेर्पाले खेलाडी डटकमसँगको कुराकानीमा जानकारी गराए।
शेर्पाका अनुसार एन्फाले यु-१६ लिगका लागि छलफल गर्न भनि आज सोमबारलाई बोलाएको बैठक एन्फाले अघिल्लो दिन स्थगित गरेको भन्दै एसएमएस गरेको थियो ।
‘एसएमएसमा यो बैठकलगायत फुटबलका सबै गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको भनिएको छ । यो भनेको के हो ? हामीलाई पत्र काटेर बैठकका लागि बोलाइएको थियो । बैठक स्थगित भएको हो भने पनि पत्र काटेरै भन्नुपर्छ । एसएमएस र मौखिक सन्देश हामी मान्दैनौं’ शेर्पाले भने ।