काठमाडौं । नेपालले जितविहीन रहँदै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिता टुंगाएको छ । छनोट समीकरणबाट यसअघि नै बाहिरिसकेको नेपालले समूह ‘के’को आफ्नो अन्तिम खेलमा फिलिपिन्ससँग ४-० को हार बेहोर्यो ।
नेपालको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित नेपाल दोस्रो खेलमा सिरियासँग ४-२ ले निराश बनेको थियो । जितसँगै फिलिपिन्सले तीन खेलमा ६ अंक जोड्दै अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउने सम्भावनालाई जिवितै राखेको छ ।
मंगलबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न खेलमा ओटु बोनोटाउ, ह्याभियर मारियोना, दोभ कारिनो र कप्तान सान्द्रो रेयेसले गोल गरे । फिलिपिन्सले दुबै हाफमा समान दुई गोल गरेको हो ।
खेलको ३३औं मिनेटमा फरवार्ड बोनोटाउले हेडर गोलमार्फत फिलिपिन्सलाई अग्रतामा ल्याएका थिए । पाँच मिनेटपछि अर्का फरवार्ड मारियोनाले पेनाल्टीमार्फत अग्रतालाई दोब्बर बनाए । यसअघि बक्सभित्र नेपाली रक्षक विशाल नेपालीबाट फउल भएपछि फिलिपिन्सले ‘सेटपीस’ अवसर पाएको थियो ।
खेलको ५९औं मिनेटमा मारियोनाको पासमा बोनोटाउको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । ७५औं मिनेटमा बोनोटाउले अर्को सुन्दर अवसरमा गोल गर्न सकेनन् । उनले ‘वान भर्सेस वान’मा गोलकिपर अमित टमाट्टालाई बिट त गरेका थिए । तर, उनको प्रहारले पहिलो बारको जाली चुम्न सकेन ।
निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा फिलिपिन्सले तेस्रो गोल गर्यो । बक्स बाहिरबाट कप्तान रेयेसको प्रहार अमितले बचाएका त थिए । तर, नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा कारिनोले गोल गरे । चार मिनेटपछि रेयेसले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए । उनको सुन्दर फ्रिकिक प्रहारले पहिलो बारको जाली चुमेको थियो । यसअघि आफ्नो खेलाडीलाई नेपालका लेफ्टब्याक सुमित श्रेष्ठले फउल गरेपछि २२ यार्ड पर फिलिपिन्सले फ्रिकिक अवसर पाएको थियो ।