काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट अन्तर्गत फिलिपिन्सले पहिलो हाफमा नेपालविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
मंगलबार दुशान्बेस्थित पामिर रंगशालामा भइरहेको खेलमा फिलिपिन्सका लागि फरवार्डद्धय ओटु बोनोटाउ र ह्याभियर मारियोनाले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाएका छन् ।
खेलको ३३औं मिनेटमा बोनोटाउले हेडर गोलमार्फत फिलिपिन्सलाई अग्रतामा ल्याएका थिए । पाँच मिनेटपछि मारियोनाले पेनाल्टीमार्फत अग्रतालाई दोब्बर बनाए । यसअघि बक्सभित्र नेपाली रक्षक विशाल नेपालीबाट फउल भएपछि फिलिपिन्सले ‘सेटपीस’ अवसर पाएको थियो ।
फिलिपिन्सविरुद्ध मुख्य प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकर रोहन खड्गी, मिडफिल्डर पुजन थापा र रक्षक विशाल नेपालीलाई पहिलो रोजाईमा मौका दिएका थिए । दोस्रो गोल लगत्तै रोहनलाई सुजन बलाम्पाकी मगरले प्रतिस्थापन गरे ।
एसियन कपमा पुग्ने समीकरणबाट बाहिरिसकेको नेपालले समूह ‘के’अन्तर्गत आफ्नो अन्तिम खेल खेलिरहेको छ । वार्म अपका दौरान घुँडामा समस्या देखिएपछि मिडफिल्डर कृतिशरत्न छुन्जुले खेल गुमाउनु पर्यो । त्यस्तै न्यौपानेले अर्का नियमित मिडफिल्डर दीपेश गुरुङलाई आज आराम दिएका छन् ।