काठमाडौं । नेपालका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । उनले सोमबारबाटै प्रशिक्षण सुरु गराएका छन्।
अफगानिस्तानले काफा नेसनल कपका लागि ताजकिस्तानमा अभ्यास सुरु गरेको छ। टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् ।
यससँगै नेपाली राष्ट्रिय फुटबल टोलीमा पनि काम गरिसकेका मनिष विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।
यसअघि बालगोपाल महर्जनलगायत केही प्रशिक्षकले विदेश क्लब भने हेरेका थिए ।
मनिषले यसअघि नेपालको राष्ट्रिय टोलीका साथै विभिन्न उमेर समूह, मनाङ मर्स्याङदी क्लब तथा भारतको पन्जाब एफसी,गोकुलम केरला जस्ता टोलीमा पनि गोलपिकर प्रशिक्षक भएर काम गरिसकेको छ ।
एक दशक यता प्रशिक्षणमा संलग्न मनिष एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली पनि हुन् ।
ताजाकिस्तानबाट खेलाडी डट कमसँग मनिषले भने, ‘एउटा नयाँ जिम्मेवारी पाएको छु। व्यवसायिक प्रशिक्षक भएपछि यसलाई स्वीकार गर्नुपर्छ ।
प्रशिक्षक मनिषले एन्फाले माग गरेको अवस्थामा देशमै उपलब्ध हुने पनि बताए ।
काफा नेसनल कपमा आयोजक ताजिकिस्तान, इरान अफगानिस्तान, तुर्किमेनिस्ता, किर्गिस्तान, उज्वेकिस्तासँगै आमन्त्रित टोलीका रूपमा भारत र ओमानले सहभागिता जनाउँदैछन् ।