काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा लगातार तेस्रो हार बेहोरेको छ ।
सोमबार नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो । यसअघि नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग ४२ र बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।
डार्विनस्थित टिआइओ रंगशालामा मेलबर्नले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि आसिफ शेखले ४९ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ३३, कुशल भुर्तेलले २५ र कुशल मल्लले ११ रन बनाए ।
तेस्रो विकेटका लागि आसिफ र रोहितबीच ८७ रनको साझेदारी भएको थियो । मेलबर्नका लागि अस्टिन एनलेजार्क र डग वारेनले समान दुई तथा आर्यन शर्मा र क्रिस होवेले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।
मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी थोमस रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ र साम हार्परले अविजित ११ रन बनाए ।
दोस्रो विकेटका लागि म्याकडोनाल्ड र रोजर्सले १२० रनको साझेदारी गरेका थिए । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए ।
अब नेपालले मंगलबार होबर्ट हुरिक्यान्स एकेडेमीको सामना गर्नेछ ।