काठमाडौं । सेन्ट्रल मिडफिल्डर विर्सना चौधरीको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानको राजधानी थिम्पुमा यही अगस्ट ६ देखि १० सम्म हुने छनोट प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने टोलीको घोषणा गरेको हो ।
नेपाली टोली गत मंगलबार मात्र बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपमा सहभागिता जनाएर स्वदेश फर्किएको थियो । दुई हप्तानको अन्तरालपछि टोलीले अर्को प्रतियोगिता खेल्न लागेको हो ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेका छन् । लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै गुरुङले सजीना स्याङताङलाई रक्षापङ्क्तिमा मौका दिएका छन् ।
ढाकामा डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको दोस्रो स्थानमा रहँदै नेपाल उपविजेतामा सीमित भएको थियो ।
थिम्पुमा समूह ‘ए’मा रहेको नेपालले उत्तर कोरिया, घरेलु टोली भुटान र साउदी अरबियासँग खेल्ने तालिका छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुनेछ ।
त्यस्तै समूहका तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने छ । नेपालले अगस्ट ६ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।