काठमाडौं । नर्वेले युइएफए महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
आइतबार स्विट्जरल्यान्डको स्टेड टर्बिलियनमा नर्वेलेले फिनल्यान्डविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।
जितसँगै दुई खेलमा ६ अंक जोडेको नर्वे समूह ‘ए’ को शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको फिनल्यान्ड समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
नर्वेलाई जित दिलाउन क्यारोलिन ग्राहम हान्सनले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । फिनल्यान्डका लागि उना सेभेनियसले गोल फर्काइन् ।
खेलको तेस्रो मिनेटमै इभा निस्ट्रोमबाट आत्मघाती गोल हुनपुग्दा नर्वेले अग्रता लिएको थियो । ३२औं मिनेटमा सेभेनियसले फिनल्यान्डलाई बराबरीमा ल्याइन् ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा हान्सनले गोल गर्दै नर्वेलाई रोमाञ्चक जित दिलाइन् ।
यही समूहको अर्को खेलमा घरेलु टोली स्विट्जरल्यान्डले आइसल्यान्डविरुद्ध २-० को जित दर्ता गर्यो ।