काठमाडौं । उपाधि दावेदार स्पेनले युइएफए महिला युरोपियन च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ ।
बिहीबार स्विट्जरल्यान्डको वाङ्कडोर्फ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा स्पेनले पोर्चुगलविरुद्ध ५-० को सहज जित दर्ता गर्यो ।
समूह ‘बी’ अन्तर्गतको खेलमा स्पेनलाई जित दिलाउन एस्थर गोन्जालेजले दुई तथा विकी लोपेज, कप्तान एलेक्सिया पुटिलास र क्रिस्टिना मार्टिन प्रिएटोले समान एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै गोन्जालेजको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै लोपेजले टोलीको अग्रता दोब्बर बनाइन् ।
पुटिलासले ४१औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् । दुई मिनेटपछि गोन्जालेजले व्यक्तिगत दोस्रो गोल गर्दा स्पेन पहिलो हाफमै ४-० ले अगाडि बढ्यो ।
थप एक गोलका लागि भने स्पेनले खेलको अन्तिम समयसम्म कुर्नुपरेको थियो । इन्जुरी समयमा प्रिएटोले स्पेनका लागि पाँचौं गोल गरिन् ।
यही समूहको अर्को खेलमा इटालीले बेल्जियमविरुद्ध १-० को कठिन जित निकाल्यो । खेलको ४४औं मिनेटमा एरियाना कारुसोले गरेको एकमात्रै गोल इटालीको जितमा पर्याप्त बन्यो ।