काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कप्तान अनिलकुमार साह र स्पिनर ललितनारायण राजवंशीसहित ६ खेलाडीलाई रिटेन गरेको छ ।
जनकपुरले रिटेन गरेका खेलाडीमा अनिल र ललितसहित शुभ कंसाकार, किशोर महतो, तुलबहादुर थापामगर र रुपेश सिंह छन् ।
टोलीले यसअघि नै दोस्रो संस्करणका लागि पनि मार्कीमा आसिफ शेखलाई नै निरन्तरता दिने निर्णय गरिसकेको थियो ।
अनिलको कप्तानीमा टोलीले गत सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो । तर चोटका कारण उनले प्ले अफ र फाइनल खेल भने गुमाएका थिए ।
अनिलको अनुपस्थितिमा आसिफले कप्तानी जिम्मेवारी सम्हालेका थिए । यसैगरी टाेलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका ललितले १७ विकेट लिएका थिए ।

यसैगरी तीव्र गतिका बलर किशोरले १४ विकेट लिएका थिए । रुपेशले भने चोटकका कारण प्रतियोगिता गुमाएका थिए ।
जनकपुरले पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् । दोस्रो संस्करणका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।
हालसम्म सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले खेलाडी रिटेन गरिसकेका छन् ।