पुस २६, २०८१ शुक्रबार | १३:१७:००
चर्च ब्वाइजको पहिलो हार साफका स्वर्णधारी महर्जनले लिए सपथ अल नासरको पुनरागमन जित फुलहमको सहज जित रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा वालिङ र बागमतीबीचको निर्णायक खेल आज विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण चर्च ब्वाइजको पहिलो हार साफका स्वर्णधारी महर्जनले लिए सपथ अल नासरको पुनरागमन जित फुलहमको सहज जित रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा वालिङ र बागमतीबीचको निर्णायक खेल आज विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण

विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई

एपिएफको टिम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । सिनियर प्रशिक्षण करिअरको सुरुआती वर्षमा रहेका भोलानाथ सिलवाल नेपाल प्रहरीमा भर्ती भएको ठ्याक्कै दुई दशक भयो । पुलिस क्लबले तीन पटक शीर्ष डिभिजन र एक पटक राष्ट्रिय लिग जित्दाका सुनौला पुस्ताका खेलाडी हुन् भोला । २०६२ बाट नेपाल पुलिसबाट लिग खेल्न सुरु गरेका भोलाले डेढ वर्षअघि मात्र सक्रिय खेल जीवनबाट संन्यास लिएका थिए ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर भोला हँसिलो स्वभावका छन् । सबैसँग हाँसेर कुरा गर्छन् । तर, यति लामो करिअरमा यो हँसिलो अनुहारले कयौंपटक आँसु पनि आत्मासात गरेको हुनुपर्छ । धेरै त खुसीका आँसु बगेका थिए होलान्, कतिपय क्षणमा उनी भक्कानिएका पनि हुनुपर्छ । भोलालाई सायदै याद होला उनी पछिल्लो पटक कहिले रोएका थिए भनेर । यो सन्दर्भ एक्कासी किन निकालिएको हो भने, बिहीबार भोलाको आँखा आँसुले भरिएको थियो ।

एन्फा मुख्यालय मैदानमा अहिले राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहेको छ । बिहीबार भोलाको नेतृत्वमा रहेको नेपाल पुलिस क्लबले विभागीय डर्बीमा जीवेश पाण्डेको नेतृत्वमा रहेको एपिएफ क्लबविरुद्ध ६-० को फराकिलो हार बेहोरेको थियो । खेलपछि आँखामा आँसु बोकेर भोला पत्रकारसमक्ष प्रस्तुत भए । उनी इमोस्नल थिए । नहुन पनि कसरी विभागको प्रतिष्ठासँग जोडिएको खेलमा पुलिसले यति धेरै अन्तरको हार बेहोर्नु परेको थियो । भावनात्मक हुनुका बावजुद भोलाले सँधैझैँ हाँस्दै सोधिएका प्रश्नको उत्तर दिए । सायद आँखामा आँसु रहेको कुरामा आफैं अनविज्ञ थिए कि? हुनसक्छ ।

मुस्कुराउँदै भोलाले भने,‘यत्रो गोल हुन्छ भनेर सोचेको थिएन । हामीले पहिलो चरणमा एपिएफविरुद्ध गोलरहित बराबरी खेलेका थियौं । हारपछि यसरी बोल्नु पर्दा गाह्रो हुँदो रहेछ । दिन बिराएर खेल्नुपर्दा  हाम्रा खेलाडी थकित देखिएका थिए । अर्को कुरा एपिएफको तुलनामा हामी स्तरका हिसाबमा अलिकति पछाडि पनि छौं ।’

पुलिसविरुद्ध ह्याट्रिक गरेकी अनिता बस्नेत, तस्विरः सरोज सापकोटा/ खेलाडी ।
 

कप्तान अनिता बस्नेतको ह्याट्रिकप्रेरित एपिएफले सानदार जित हासिल गरेको थियो । अनिताबाहेक मिडफिल्डर सरु लिम्बुले दुई  र अर्की मिडफिल्डर रेनुका नगरकोटेले एक गोल थपे । पहिलो हाफमा दुई गोल खाएको पुलिसले निर्धारित समयसम्म थप दुई गोल खाएको थियो । 

भोला खेलाडी जीवनमा धेरै विभागीय डर्बीको हिस्सा रहे । यी विभागीय डर्बीमा यस्तो फराकिलो हार उनले सायदै आत्मासात गरेका थिए होलान् । सिनियर प्रशिक्षण करियरमा भोलाको यो चौंथो विभागीय डार्बी हो । यसअघिका तीन खेलमा भोलाको टोलीले बराबरी खेलेको थियो । पुलिसले यही लिगमा दुई पटक त्रिभुवन आर्मीविरुद्ध बराबरी खेलेको छ । त्यस्तै पुलिसले एपिएफविरुद्ध पहिलो चरणमा गोलरहित बराबरी खेलेको थियो ।

खेलाडी जीवन होस वा प्रशिक्षकको भूमिकामा, विभागीय डार्बीमा हार बेहोर्दा कस्तो महसुस हुन्छ ? भोला सुनाउँछन्,‘विभाग विभाग खेल्दा जित्नुपर्छ भन्ने भावना हुन्छ । खेलाडी हुँदा मैले यो कुरा धेरै महसुस गरेको छु । तर, प्रशिक्षक हुँदा छुट्टै हुने रहेछ । टचलाइनमा रहँदा खेलाडीभन्दा धेरै जिम्मेवारी बोध हुने रहेछ । धेरै गाह्रो हुने रहेछ । आज दुई चार गोल खाएपछि त मेरो बोली नै बन्द भएजस्तो भयो । पूरा ९० मिनेट टचलाइनमा बस्न एकदमै गाह्रो भयो ।’

भोलाका यी कुराले पनि थाहा हुन्छ, पुलिस र उनको सम्बन्ध कस्तो हो भन्ने । भोला आज जुन स्थानमा छन् त्यो सबै पुलिसकै देन न हो । अनि पुलिस पनि भोलाको योगदानप्रति कृतज्ञ छ । यही कुरा एपिएफका प्रशिक्षक जीवेशमा पनि लागू हुन्छ ।

घरेलु फुटबलमा ख्याति कमाएका खेलाडीमध्ये एक हुन् जीवेश । कुनै बेलाका स्टार खेलाडी जीवेश ६१ सालमा एपिएफमा भर्ती भएका थिए । एपिएफमा ८ वर्ष बिताएका जीवेशले सक्रिय खेल जीवनबाट सन्यास लिएको १२ वर्षभन्दा बढी भइसक्यो । अहिले प्रहरी नायब उपरीक्षक (डिएसपी)को पदमा रहेका जीवेशका लागि आफ्नो विभागको प्रतिष्ठा सबैभन्दा ठूलो कुरा हो । जीवेश पनि सिनियर प्रशिक्षण करिअरमा सुरुआती वर्षमा छन् ।

डर्बीमा एपिएफले जित हासिल गर्दा जीवेशलाई कस्तो महसुस हुन्छ ?

‘विभागीय डर्बी भनेको अन्य खेलभन्दा बेग्लै नै हुन्छ । आफू खेल्दा पनि अहिले प्रशिक्षक हुँदा पनि खेलको महोल उस्तै हुने रहेछ । मलाई त आफैं नै खेलिरहेको छु जस्तो लाग्यो आज,’ पुलिसविरुद्धको जितपछि जीवेशले भने, ‘खेल जित्दा एकदमै खुसीको महसुस हुन्छ । भावनात्मक रुपमा भन्दा पहिला जस्तो थियो अहिले पनि त्यस्तै महसुस गर्ने गरेको छु । मेरो जिम्मेवारी मात्र परिवर्तन भएको हो । उतिबेला पनि मेरो मनमा विभागका लागि जित्नुपर्छ भन्ने थियो । अहिले पनि उही छ ।’

जीवेश खेलका लागि आत्मविश्वासी थिए । किनभने स्तरका हिसाबले एपिएफ पुलिसभन्दा अगाडि नै थियो । दोस्रो चरणको सुरुआती दुई खेलमा एपिएफले विपक्षी पोस्टमा १४ गोल गरेको थियो । तर, यी दुई टोली विभाग बाहिरका टोली थिए । जीवेश पुलिसविरुद्धको खेल नै लिगमा एपिएफको वास्तविक परीक्षा रहेको बताउँदै आएका थिए । भन्छन्,‘हाम्रो लागि बागमती र वालिङविरुद्धको खेल वार्म अप जस्तो थियो । पुलिसविरुद्ध हाम्रो वास्तविक परीक्षा थियो । म जित्नेमा कन्फिडेन्ट थिएँ । योजना अनुसारकै खेल प्रस्तुत गर्न सक्यौं । खेलाडीले जिम्मेवारी बखुबी निभाए ।’

कप्तान अनिताका लागि पनि यो तीन गोलले विशेष अर्थ राखेको छ । विभागीय डर्बीमा अनिताको यो पहिलो ह्याट्रिक रह्यो । विंगर अनितालाई यो जितले के अर्थ राख्छ त?

‘विभागीय डर्बीमा यसरी फराकिलो जित हासिल गर्दा खुसी त लाग्छ । तर, नेपाली महिला फुटबल त्यस्तो प्रतिस्पर्धात्मक छैन । पक्कै पनि आफ्नो विभागको नाम राख्न पाउँदा खुसी त लाग्छ नै । तर, खेल नै प्रतिस्पर्धात्मक बनेन भने के मज्जा ?’


भिडियो
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO
2025 Under-19 Women's T20 World Cup जित्ने आशा राखेका छौँ : kiran kumari kunwar
2025 Under-19 Women's T20 World Cup मा राम्रो नतिजा दिन्छौँः SONY PAKHRIN
Asia Cup मा पाकिस्तानविरुद्धकाे जितले विश्वकपको लागि आत्मविश्वास बढाएको छ : Mahesh Pd Rijal Coach
Under-19 Women's T20 World Cup अघि मुलपानी मैदानमा अन्तिम तयारी TEAM NEPAL