काठमाडौं । काया कप यु-१६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साताबाट हुने भएको छ ।
नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्टसले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
राजधानीको ३२ विद्यालयको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुने आयोजकले बताएको छ । प्रत्येक टोलीले कम्तिमा पनि तीन खेल खेल्न पाउनेछन् ।
प्रतियोगिता काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुनेछ । सहाभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् ।
प्रतियोगिताको समूह चरणका खेलहरु मंसिर १७ र १८ गते हुनेछन् । २० गते नकआउट चरणको खेलहरु हुनेछन् भने फाइनल २२ गते गर्ने आयोजकले जनाएको छ ।
आयोजकले फुटसल प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई पनि सहयोग गर्ने योजना बनाएको छ ।