काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा सोमबार चन्द्रपुर नगरपालिकाविरुद्ध ६-० को फराकिलो जित दिर्ता गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याल मैदानमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटेले दुई तथा सविता रानामगर, रश्मीकुमारी घिसिङ, प्रीति राई र गीता रानाले समान एक गोल गरे ।
खेलको १८औं मिनेटमा सविताको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ३२औं मिनेटमा रेनुकाले टोलीको अग्रता दोब्बर बनाइन् ।
तीन मिनेटपछि नै रेनुकाले व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफ ३-० ले अगाडि बढ्यो । ५२औं मिनेटमा रश्मीले टोलीका लागि चौथो गोल गरिन् ।
प्रीतिले ८४औं मिनेटमा गोल गर्दा एपिएफले ५-० को आरामदायी अग्रता बनायो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा गीताले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ६-० को फराकिलो जित दिलाइन् ।
लगातार दोस्रो जितसँगै तीन खेलमा सात अंक जोडेको एपिएफ तेस्रो स्थानमा उक्लिएको छ । यसअघि पुलिससँग गोलरहित बराबरीमा रोकिएको एपिएफले आर्मीलाई २-१ ले पराजित गरेको थियो ।
पहिलो पराजय ब्यहोरेको चन्द्रपुर समान खेलबाट दुई अंकका साथ सातौं स्थानमा छ । यसअघि चन्द्रपुरले कर्णालीसँग १-१ र संकटासँग गोलरहित बराबरी खेलेको थियो ।
सोमबारै सम्पन्न पहिलो खेलमा वालिङले संकटाविरुद्ध १-० को कठिन जित निकालेको थियो ।