काठमाडौं । भर्खरै फ्रान्सको पेरिस सहरले ग्रीष्मकालीन ओलम्पिकको ३३औं संस्करण भव्यतापूर्वक सम्पन्न गरेको छ ।
साउन ११ देखि २६ सम्म भएको प्रतियोगितामा २०६ देश (शरणार्थी टिम र आईओसीको झन्डामुनि खेलेका खेलाडी टिमसहित) का १० हजार ५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
३२ खेल समावेश ओलम्पिकमा ३ सय २९ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । यस पटक पनि अमेरिका र चीनकै दबदबा रह्यो । दुवैले समान ४० स्वर्ण जिते पनि कुल पदकका आधारमा अमेरिकाले पहिलो स्थान ओगट्यो । अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदकका साथ शीर्षस्थानमा रहँदा दोस्रो स्थानको चीनले ४० स्वर्ण, २७ रजत र २४ कांस्य पदक जित्यो ।
दक्षिण एसियाली राष्ट्रमा पाकिस्तानले स्वर्ण पदक जित्दा यसपालि भारतले स्वर्ण जित्न सकेन । भारतले १ रजत र ५ कांस्यमै चित्त बुझायो । अर्शद नदिमले ओलम्पिक कीर्तिमानीसहित ज्याभलिन थ्रोमा स्वर्ण जितेका थिए । जुन पाकिस्तानले ३२ वर्षपछि ओलम्पिकमा जितेको पदक हो । भारतका नीरज चोपडालाई पछाडि पार्दै नदिमले स्वर्ण जितेका थिए । नीरजको रजत नै भारतले जितेको एकमात्र रजत हो ।
एलेक्सले राष्ट्रिय कीर्तिमान कायम गर्नु नै पेरिसमा नेपालको उत्कृष्ट प्रदर्शन रह्यो भने म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिसको कठिन कोर्समा दुरी पार गर्नु अर्को उपलब्धि बन्यो ।
पदक तालिकामा ९१ राष्ट्रले आफ्नो उपस्थिति देखाएका छन् । पेरिस ओलम्पिकमा नेपालबाट पनि ६ खेलका ७ खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । तर, कोही खेलाडीको प्रदर्शन सोचेअनुरुप हुन सकेन ।
ओलम्पिकमा नेपाली खेलाडीले ब्याडमिन्टन र टेबलटेनिसमा पहिलोपल्ट सहभागिता जनाएका थिए । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले पेरिस ओलम्पिकमा आफ्नो सहभागिता जनाए । पौडीबाट डुवाना लामा र एलेक्जेन्डर शाह, एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, सुटिङबाट सुस्मिता नेपाल र जुडोबाट मनिता श्रेष्ठ प्रधानले भाग लिए।
एलेक्सले राष्ट्रिय कीर्तिमान कायम गर्नु नै पेरिसमा नेपालको उत्कृष्ट प्रदर्शन रह्यो भने म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिसको कठिन कोर्समा दुरी पार गर्नु अर्को उपलब्धि बन्यो ।
नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६ दशकभन्दा बढी समय भइसकेको छ । तर, नेपालको प्रदर्शन सधैं सहभागितामै सीमित बन्दै आएको छ । नेपाली खेलाडीको लक्ष्य पदक जित्नेभन्दा पनि व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै उपलब्धिपूर्ण हुने गरेको छ । नेपाली खेलाडी दोस्रो चरणमा पुग्नु नै ठूलो उपलब्धि मान्नुपर्छ । ‘अहिलेको लगानी र तयारीले पदकको आस गर्न सकिँदैन । त्यसैले व्यक्तिगत प्रदर्शन सुधार्नु नै मेरो लक्ष्य हो,’ सुटिङकी सुस्मिता नेपालले पेरिस उड्नुअघि भनेकी थिइन् ।
सन् १९६४ को टोकियो ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएको नेपालले सन् १९६८ को मोक्सिको सिटीमा भाग लिएन । त्यसयताका सबै ओलम्पिकमा नेपाली खेलाडीले विभिन्न खेलमा भाग लिँदै आएका छन् ।
नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ ओलम्पिकमा सहभागी खेलाडीको तयारीका लागि कमिटीले आफ्नो तर्फबाट गर्न सक्ने जति गरिरहे पनि त्यो पदकका लागि पर्याप्त नभएको धारणा राख्छन् ।
अहिलेसम्म नेपालबाट ९२ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन् । तर, सन् १९८८ को सोल ओलम्पिकबाहेक नेपालका लागि अरू सम्झनलायक छैन । दक्षिण कोरियाको सोलमा भएको उक्त ओलम्पिकमा तेक्वान्दोका विधान लामाले कांस्य पदक जितेका थिए । त्यतिबेला तेक्वान्दो प्रदर्शनी खेलका रूपमा रहेकाले ओलम्पिकको आधिकारिक पदकमा गणना नभए पनि यो नेपालका लागि गर्व गर्न लायक प्रदर्शन थियो ।
सोही ओलम्पिकमा नेपाली बक्सर विष्णुबहादुर सिंहले एक खेल जितेका थिए । आधिकारिक रूपमा अहिलेसम्म ओलम्पिकमा नेपाली खेलाडीले जितेको खेल भनेकै त्यहीमात्र हो । विष्णुबहादुर ५१ केजीमुनि (फ्लाइवेट) तौल समूहका प्रतिस्पर्धी थिए । उक्त तौलमा ४४ प्रतिस्पर्धी थिए । सोलस्थित जम्सिल स्टुडेन्ट जिम्न्याजियममा उनले पहिलो बाउटमा पाराग्वेका सिक्स्टो भेरा स्पिनोलालाई ५ः० अंकका आधारमा पराजित गरेका थिए । अमेरिकाका आर्थर जोन्सनसँग पराजित भएपछि विष्णुको ओलम्पिक यात्रा दोस्रो चरणमा टुंगिएको थियो ।
नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ ओलम्पिकमा सहभागी खेलाडीको तयारीका लागि कमिटीले आफ्नो तर्फबाट गर्न सक्ने जति गरिरहे पनि त्यो पदकका लागि पर्याप्त नभएको धारणा राख्छन् ।
‘नेपाल ओलम्पिक कमिटीले खेलाडीको तयारीका लागि आफ्नो तर्फबाट सक्ने जति गरिरहेको छ । तर यसबाट पदकको आस गर्न सकिने अवस्था छैन,’ श्रेष्ठले भने, ‘हामीले ओलम्पिकमा पदकभन्दा पनि व्यक्तिगत प्रदर्शन सुधारको अपेक्षा राख्नुपर्ने अवस्था छ । नेपाली खेलकुदमा भएको लगानीअनुसार गर्न सकिने यति नै हो । यदि ओलम्पिकमा पदक जित्ने हो भने युवा तथा खेलकुद मन्त्रालयले पर्याप्त बजेट विनियोजन गर्नैपर्छ । खेलाडीलाई राम्रो वैदेशिक प्रशिक्षणको व्यवस्था हुनुपर्छ ।’
नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ नेपाली खेलकुदलाई राम्रोसँग बुझेको मान्छे नेतृत्वमा नआउँदासम्म अन्तर्राष्ट्रिय स्तरमा नेपालको हालत यस्तै रहने तर्क गर्छन् ।
‘हामीले एसियाली खेलकुदमा पदक जितेको धेरै समय भइसकेको छ । तर, राम्रो नेतृत्व नहुँदा त्यसलाई जोगाउन सकेनौं । खेलकुदमा राजनीति हाबी हुँदा राम्रो सम्भावना बोकेका खेल पछि परेका छन् । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सम्हाल्नेले खेल योजना बनाउन सकेका छैनन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले टिमभन्दा अहिले व्यक्तिगत खेललाई बढी प्राथमिकता राख्नुपर्छ । जबसम्म नेतृत्वसँग व्यक्तिगत स्वार्थ रहन्छ, तबसम्म हाम्रो ओलम्पिक सहभागितामै सीमित हुन्छ ।’