काठमाडौं । पाकिस्तान सुपर लिग(पिएसएल) २०२६ आजबाट सुरु हुदैछ ।
यस संस्करणको पहिलो खेलमा लिगको डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्स र नवप्रवेशी टोली हैदराबाद किंग्सम्यानबीच खेल हुदैछ । लिगको उद्घाटन खेल नेपाली समय अनुसार बिहीबार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।
गत संस्करणको फाइनलमा क्वेटा ग्लाडियटर्सलाई अन्तिम बलमा हराउँदै रोमाञ्चक जितका साथ च्याम्पियन बनेको लाहोर सोही जितको लयलाई निरन्तरता दिन चाहन्छ । पिएसएलमा ६ बाट ८ टिम बनाउँदा थपिएको मध्येको एक टिम हैदराबाद इतिहासको पहिलो खेल जितबाट सुरुवात गर्न चाहन्छ ।
लाहोर पाकिस्तान ओडिआई टिमका कप्तान रहेका शाहिन शाह अफ्रिदीको कप्तानीमा मैदान उत्रदै छ । टोलीमा अब्दुल्हा सफिक, आसिफ अलि, हुसेन तलत, हरिस रउफ जस्ता पाकिस्तानी खेलाडी रहँदा रायन वर्ल, सिकन्दर राजा, रुवेन हरम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।
हैदराबाद भने अस्ट्रेलियन ब्याटर मार्नोस लबुस्चेनको कप्तानीमा मैदान उत्रदैछ । टोलीमा नेपाल प्रिमियर लिग(एनपिएल) समेत खेलेका माज सदाकद, सैयम अयुब जस्ता पाकिस्तानी खेलाडी रहँदा ग्लेन म्याक्सवेल, शाहन जाहँगिर, महेश तिक्सेना जस्ता विदेशी खेलाडी रहेका छन् ।
यस पटकको पिएसएल नेपाली क्रिकेट समर्थकका लागि विशेष हुनेछ । लिगको टोली इस्लामाबाद युनाइटेडमा नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी अनुबन्ध भएका छन् । पिएसएलमा दीपेन्द्रको टिमको खेल भने शनिबार मुल्तान सुल्तानसँग रहेको छ ।
पिएसएलमा कुन ८ टोली सहभागी रहेकामा डबल राउण्ड रोबिन फर्म्याटमा लिग चरणका खेल हुनेछन् । लिगमा शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । पिएसएल २०२६ को फाइनल खेल ३ मे २०२६ मा रहेको छ ।
