काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल आयोजना हुदैछ । काठमाडौंमा रहेको माथिल्लो र तल्लो मुलपानी मैदानमा बिहीबारका दुई खेल आयोजना हुदैछन् ।
बिहीबारका खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशको तथा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग खेल्दैछन् । बिहीबारका दुवै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा स्थानिय टोली बागमतीले पुलिसको सामना गर्दैछ । डिफेन्डिङ च्याम्पियन पुलिस र बागमती दुवैले तेस्रो खेल खेल्दैछन् । दुवै टोलीले पहिलो खेलमा पराजित हुँदा दोस्रोमा भने फराकिलो जित हात पारेका थिए ।
पुलिस पहिलो खेलमा अर्को विभागीय टोली आर्मीसँग पराजित हुँदा दोस्रो खेलमा एपिएफमाथि फराकिलो जित हात पारेको थियो । उता बागमतीले पहिलो खेल एपिएफसँग गुमाउँदा दोस्रो खेलमा गण्डकी प्रदेशसँग जित हासिल गरेको थियो ।
यस खेलमा जित हासिल गरेर दुवै टोलीको शीर्ष स्थानमा पुग्ने लक्ष्य छ ।
बिहीबारै हुने अर्को खेलमा आमीले गण्डकी प्रदेशको सामना गर्दैछ । आर्मी र गण्डकीले आ आफ्नो दोस्रो खेल खेल्दैछन् । आर्मी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पुलिसलाई पराजित गरि उच्च मनोबलका साथ मेदान उत्रदै गर्दा गण्डकीले बागमतीसँग फराकिलो हार बेहारेको थियो ।
आर्मी दोस्रो खेलमा पनि जितको लयलाई निरन्तरता दिन पक्षमा छ भने गण्डकी पनि आर्मीलाई हराउँदै गुमेको लय फिर्ता ल्याउने प्रयासमा हुनेछ ।
