काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने बताएका छन् ।
ज्ञानेन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको सुचीमा अटाउन असफल भएपछि आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस्तो धारण व्यक्त गरेका हुन् । पछिल्लो सयम मल्लले राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट अलग हुँदै राजनीतिमा होमिएका थिए ।
उनी रास्वपाको आदिवासी जनजातितर्फको समानुपातिक बन्द सूचीमा थिए । भर्खरै समाप्त भएको प्रतिनिधिसभा निर्वाचन २०८२ मा उनी रास्वपाको चुनावी अभियानमा सक्रिय भएर लागेका थिए।
रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको थियो । जसमा ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरिएको थियो । जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो।
जनजातिको पुरुषतर्फ पाँचौ नम्बरमा रहेका कारण मल्ल सिफारिस हुन सकेनन्। यस क्लस्टरमा पुरुषतर्फबाट ३ जना मात्र सिफारिसमा परेका छन् ।
साथै निर्वाचनमा देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण मतदाताहरूमा उनले धन्यवाद व्यक्त गरेका छन् । साथै उनले आफूलाई समानुपातिकमा नाम राख्न सम्झिएको भन्दै रास्वपा परिवार, कुमार बेन र बालेन शाहलाई पनि धन्यवाद दिएका छन्।
‘मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने, ‘सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार-जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।’
