काठमाडौं । एन्फा राष्ट्रिय लिगमा सोमबार तीन खेल हुँदैछन् । दिनको अन्तिम खेलमा शीर्ष स्थानको मछिन्द्रलाई अंक दूरी बढाउने अवसर हुनेछ ।
साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । आर्मीलाई हराए मछिन्द्रले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिनेछ । मछिन्द्रको अहिले १० खेलमा २५ अंक छ । एक खेल बढी खेलेको एपिएफको पनि समान अंक छ । एपिएफ गोल भिन्नतामा एक स्थान तल भएको हो ।

उपाधि सम्भावनालाई बलियो पार्न आर्मीलाई जितको विकल्प छैन । मछिन्द्रसँग हार बेहोरे आर्मी शीर्ष स्थानको दौडमा ८ अंकले पछाडि पर्नेछ । जितले २० अंकका साथ छैटौंमा रहेको आर्मीलाई बढीमा तेस्रो स्थानमा लैजानेछ । किनभने आजै दिनको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र लालिगुराँस एसोसिएसनको खेल छ । दुबै क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।
दशरथ रंगशालामै हुने यो खेलमा जित हासिल गरे प्लानिङले एपिएफ र मछिन्द्रसँग अंकमा बराबरी गर्नेछ । अहिले ११ खेलमा प्लानिङले २२ अंक जोडेको छ । समान खेलमा लालिगुराँसको २१ अंक छ ।

दिनको पहिलो खेल बिहान १० बजे सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुँदैछ । जसमा पुछारका टोलीहरु नेपाल पुलिस क्लब र सातदोबाटो युवा क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् । दुबैले १० खेलमा समान ८ अंक जोडेका छन् । सातदोबाटो पुछारबाट तेस्रो र पुलिस चौथो स्थानमा छ ।
