काठमाडौं । इङ्ल्याण्डका कप्तान ह्यारी ब्रुकले भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा टोलीलाई सेमिफाइनलमा प्रवेश गराउने क्रममा कीर्तिमानी शतक प्रहार गरेका छन् ।
ट्वान्टी २० विश्वकप दशौं संस्करण सम्म आइपुग्दा शतक प्रहार गर्ने ह्यारी पहिलो कप्तान बनेका हुन् । मंगलबार पाकिस्तानलाई पराजित गर्ने क्रममा ह्यारीले आफ्नो ट्वान्टी २० आई करियरको पनि पहिलो शतक पूरा गरेका हुन् ।
ह्यारीले पाकीस्तानविरुद्ध ५० बलमा शतक पूरा गरेका थिए । शतक बनाए लगत्तैको अर्को बलमा ह्यारी आउट भएका थिए । ह्यारीकै शतक सहयोगमा इङ्ल्याण्ड विश्वकपको सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । ह्यारी यस विश्वकपमा शतक बनाउँने चौथा खेलाडी हुन् ।
ट्वान्टी २० विश्वकपको इतिहासमा भने ह्यारीको सहित १५ शतक प्रहार भएका छन् । यसअघि सन् २०१० को तेस्रो संस्करणको ट्वान्टी २० विश्वकपमा वेस्ट इण्डिजका कप्तान क्रिस गेलले भारतविरुद्धको खेलमा सर्वाधिक ९८ रन बनाएका थिए ।
धेरै शतक प्रहार भएको संस्करण
यस संस्करणको विश्वकपमा एकै संस्करणमा सर्वाधिक शतक बन्ने कीर्तिमान समेत बनिसकेको छ । यस संस्करणको विश्वकपमा १० खेल बाँकी रहँदा ४ शतक प्रहार भइसकेका छन् । यो एकै संस्करणमा प्रहार भएको सर्वाधिक धेरै शतक हो ।
यसअघि सन् २०१०, सन् २०१४, सन् २०१६ तथा सन् २०२२ को विश्वकपमा सर्वाधिक रुपमा समान २ शतक बनेका थिए । सन् २००७, सन् २०१२ तथा सन् २०२१ का विश्वकपमा समान १ शतक प्रहार भएकामा सन् २००९ तथा सन् २०२४ को विश्वकपमा भने शतक प्रहार भएका थिएनन् ।
