काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो ४ बजे हुने खेलमा दुबै टोली दोस्रो जितको लक्ष्यमा हुनेछन् ।
चौथो खेल खेलिरहेको काठमाडौंले पछिल्ला दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा साबिक विजेता जनकपुरमाथि पाँच विकेटको सहज जित हासिल गरेको काठमाडौंले त्यसपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग पराजित भएको थियो ।
लुम्बिनी आफ्नो तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा चितवन राईनोजलाई ६ विकेटले हराएको लुम्बिनी त्यसपछि कर्णाली याक्ससँग दयनीय तरिकाले पराजित भएको थियो । शनिबार कर्णालीले लुम्बिनीलाई ९ विकेटको हार चखाएको थियो । मार्क वाटले प्रतियोगिताको पहिलो शतक प्रहार गरेको दिन कर्णालीले ४६ बल बाँकी छँदा नै १५७ रनको लक्ष्य पूरा गर्यो । यो कुराले पक्कै पनि लुम्बिनीको मनोबलमा असर परेको छ ।
मंगलबार लयमा फर्किन दुबैका लागि जित अत्यावश्यक छ । लुम्बिनीसँग पराजित भए काठमाडौंलाई त्यसपछिको यात्रामा जित्नैपर्ने दबाब हुनेछ । किनभने लुम्बिनीपछि काठमाडौंसँग तीन खेल मात्र बाँकी रहनेछ । जसमा काठमाडौंलाई जितको विकल्प रहनेछैन । त्यसैले काठमाडौं लुम्बिनीलाई हराउँदै आफ्नो यात्रालाई सहज बनाउने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
गत सिजन लुम्बिनीले ७ खेलमा दुई अंक मात्र हासिल गरेको थियो । त्यतिबेला पनि लुम्बिनीले चितवनलाई नै हराएको थियो । दोस्रो जितले लुम्बिनीलाई सकारात्मक उर्जा दिनेछ ।
गत सिजन ‘लो स्कोरिङ’ खेलमा काठमाडौंले लुम्बिनीमाथि बाजी मारेको थियो । काठमाडौंले दिएको १०४ को सामान्य लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन । १९.२ ओभरमा लुम्बिनीले सबै विकेट गुमाएर मात्र ८५ रन बनाउन सकेको थियो ।
