काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि अमेरिकाका अलराउन्डर शुभम रन्जानेलाई अनुबन्ध गरेको छ ।
विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत रन्जानेलाई भित्र्याएको जानकारी दियाो ।
उनले ४८ टी-ट्वान्टी खेल खेल्दा तीन अर्धशतकसहित ६५४ रन बनााउनुका साथै २२ विकेट पनि लिएका छन् ।
यससँगै विराटनगरले ६ विदेशी खेलाडीको कोटा पूरा गरेको छ । यसअघि टोलीले न्युजिल्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मर्चेन्ट डी लाङ्ग, अस्ट्रेलियाका साम हिजलेट तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको थियो ।
पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म हुँदैछ । विराटनगरले मंसिर २ मा कर्णाली यक्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
