काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि इङ्ल्यान्डका बेन चार्ल्सवर्थ नेपाल आइपुगेका छन् ।
अलराउन्डर चार्ल्सवर्थले एनिपएलमा काठमाडौं गोर्खाजको प्रतिनिधित्व गर्नेछन् । बुधबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका चार्ल्सवर्थलाई काठमाडौंका प्रतिनिधिले स्वागत गरेका थिए ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डौंले एनपिएलको दोस्रो सिजनका लागि विदेशी खेलाडीका रूपमा चार्ल्सवर्थसँगै दक्षिण अफ्रिकाका विकेटकिपररब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्ल्यान्डका विकेटविकपर ब्याटर जोहन सिम्पसन र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरिसकेको छ ।
कुमार र सिम्ससन यसअघि नै नेपाल आइसकेका छन् ।
२४ वर्षे अलराउन्डर चार्ल्सवर्थले ग्लोसेस्टरसायरबाट इङ्ल्यान्डको काउन्टी क्रिकेट खेल्दै आएका छन् ।
चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू गरेका थिए । उनले ५७ खेलमा चार शतक र १५ अर्धशतकसहित २ हजार ७५४ रन बनाएका छन् । यसैगरी उनको नाममा ३० विकेट पनि छ ।
यस्तै चार्ल्सवर्थले ४४ टी-ट्वान्टी खेलमा तीन अर्धशतकसहित ७७६ रन बनाएका छन् । इङ्लिस यु(१९ टोलीको प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजन युएईको आइएल टी(२० मा एमआई इमिरेट्सको टोलीमा थिए ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
