काठमाडौं । विक्रम महर्जन राष्ट्रिय महिला फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार महर्जनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको जानकारी दियो । उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हतान्तरण गरेका थिए ।
उनले जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसिपमा टोलीको नेतृत्व गर्नेछन् ।
महर्जनलाई यसअघि पनि राष्ट्रिय पुरुष फुटसल टाेलीको प्रशिक्षण जिम्मेवारी दिइएको थियो । तर एन्फाले टिम दर्ता नगरेका कारण टोलीले एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता जनाउन पाएको थिएन ।
एन्फाले गत वैशाख २२ देखि जेठ ५ सम्म ‘अन्तर विद्यालय फुटसल च्याम्पियनसिप’ आयोजना गरेको थियो । त्यस प्रतियोगिताबाट सम्भावना भएका खेलाडी र राष्ट्रिय खेलाडीलाई समेट्दै एन्फाले छनोट प्रतियोगिताका लागि तयारी थालेको थियो । प्रारम्भिक छनोटका लागि लागि ४५-५० खेलाडी बोलाइएको थियो । तर, एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण सुरु हुन नपाउँदै बन्द गरेको थियो ।
यसैगरी एन्फाले नरेश श्रेष्ठलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
