काठमाडौं । अमेरिकाले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा सोमबार घरेलु युएईविरुद्ध २४३ रनको सानदार जित दर्ता गरेको छ ।
जारी शृंखलामा अमेरिकाको यो चौथो जित हो । यसअघि अमेरिकाले नेपालले दुई पटक र युएईलाइृ एक पटक हराएको थियो ।
जितसँगै २४ खेलमा ३६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । पराजित युएई १९ खेलबाट आठ अंकका साथ पुछारमा छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको युएई २२.१ ओभरमा ४९ रनमै समेटियो ।
युएईका लागि जुनैद सिद्धिकीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
रुशिल उगारकरले ८.१ ओभरमा एक मेडनसहित २२ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी सौरभ नेत्रावल्करले तीन, शुभम रन्जाने र मिलिन्ड कुमारले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा तीन विकृट गुमाउँदै २९२ रनको योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले १४९ बलमा १० चौका र तीन छक्कासहित अविजित १३७ रन बनाए । यसैगरी मिलिन्ड कुमार १२५ बलमा ११ चौका र एक छक्कासहित १२३ रनमा अविजित रहँदा कप्तान मोनांक पटेलले १५ रन जोडे ।
चौथो विकेटका लागि मुक्कामल्ला र कुमारबीच अविजित २६४ रनको साझेदारी भएको थियो । युएईका लागि जुनैद सिद्धिकीले दुई र मोहम्मद रोहिदले एक विकेट लिए ।
