काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस ९ गते देखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार एन्फा र क्लबबीच सम्पन्न बैठकबाट आगामी राष्ट्रिय लिग गर्ने सहमती जुटेको हो ।
असोज ६ गते एन्फाले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै ‘ए’ डिभजिन लिग पुस ९ देखि असार २६ सम्म हुने जानकारी गराएको थियो । एन्फाले देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर, असोज २४ गते एन्फाले पत्रकार सम्मेलनमार्फत ‘होम एन्ड अवे’ लिग तत्कालका लागि सम्भव नभएको निश्कर्ष निकाल्दै शीर्ष डिभिजन लिग नभए राष्ट्रिय लिगको विकल्पका रूपमा रहेको बताएको थियो ।

अन्ततः यस वर्ष पनि नेपालको शीर्ष डिभिजन लिग नहुने भएको छ । पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।
सोमबार बसेको एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति पनि जुटाएको छ ।
राष्ट्रिय लिगमा पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ तथा बुधबार देखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनसिप खेल्ने छ ।
पछिल्लो संस्करणको लिगमा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोट टिम (एनअराटी) शीर्ष ६ मा रहेका छन् ।
लिगमा सहभागी टोलीले मंसिर ५ गते टिम तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका मंसिर १९ मा सार्वजनिक हुनेछ ।
