काठमाडौं । अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहले आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सकै जर्सी लगाउने भएका छन् ।
आइतबार सिंहलाई सुदूरपश्चिमले तेस्रो विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको हो ।
गत सिजन सिंहले ५ खेलमा ८ विकेट लिएका थिए । सिंह पहिलो संस्करणमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।
सिंहले यसपाली जसरी भएपनि सुदूरपश्चिमलाई च्याम्पियन बनाउने अठोट बोकेका छन् । भन्छन्, ‘एनपिएलका लागि फेरि नेपाल आउँदै छु । गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ । समर्थकहरुसँग भेट्न इच्छुक छु’
सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हर्मितको आगमनले टोली अझ बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मितको आगमनले टोली झन् मजबुत बन्नेछ । गत सिजन उनले जुन हिसाबको प्रदर्शन गरेका थिए, यसपाली पनि त्यही प्रदर्शनको अपेक्षा गरेका छौं ।’
३२ वर्षीय हर्मित बायाँहाते बलर÷ब्याटर हुन् । उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् ।
सन् २०१२ मा भारतले यु-१९ एकदिवसीय विश्वकप जित्दा हर्मित टोलीका सदस्य थिए । उनीसँग राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ ।
सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मित सिंह
मुख्य प्रशिक्षकः जगत टमटा
