काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पुरस्कार रकम सार्वजनिक गरेको हो ।
यसैगरी प्रतियोगिताको उपविजेताले ५ लाख, ‘फेयर प्ले अवार्ड’ जित्ने टोली र सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यता हेरक खेलका ‘प्लेयर अफ द’ ले म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । एन्फाले प्रतियोगिताको तयारीका लागि हरेक टोलीलाई ७ लाख रुपैयाँ प्रदान गरिएको जानकारी दियो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा प्रवेश पाउने प्रावधान छ । सेमिफाइनल पुग्ने चारै टोली राष्ट्रिय लिगका लागि पनि छनोट हुनेछन् ।
मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा यही कार्तिक १९ देखि मंसिर २ सम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ एफसी र देउराली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
साढे चार वर्षअघि बाँकेको नेपालगंजमा प्रेसिडेन्ट लिगको पहिलो संस्करण सम्पन्न भएको थियो ।
