काठमाडौं । इङ्ल्यान्डविरुद्ध १७५ रनको फराकिलो जित निकाल्दै दक्षिण अफ्रिका आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकमा पहिलो पटक विश्वकपको उपाधि नजिक पुगेको हो ।
बुधबार गुहावटीस्थित वर्षापारा क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३२० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४२.३ ओभरमा १९४ रनमै समेटियो ।
इङ्ल्यान्डका लागि कप्तान नटालिया स्क्रिभर ब्रन्टले ७६ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरिन् । यसैगरी एलिस क्यापसीले ७१ बलमा ६ चौकासहित ५०, ह्यानी वायट होड्जीले ३० र लिन्सी स्मिथले २७ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि म्यारिजेन कापले सात ओभरमा तीन मेडनसहित मात्र २० रन खर्चिएर पाँच विकेट लिइन् । यसैगरी नादिन डी क्लार्कले दुई तथा सुने लुस र अयाबोङ्गा खाकाले समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३१९ रनको योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान लोरा उल्भर्ड्टले १४३ बलमा २० चौका र चार छक्काको मद्दतले सर्वाधिक १६९ रनको योगदान गरिन् । यसैगरी ताज्मिन ब्रिट्जले ४५, म्यारिजेन केपले ४२, क्लो ट्रियोनले अविजित ३३ र नादिन डी क्लार्कले अविजित ११ रन बनाए ।
इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले चार, लोरन बेलले दुई र नटालिया स्क्रिभर ब्रन्टले एक विकेट लिए ।
दक्षिण अफ्रिकाले उपाधिका लागि अस्ट्रेलिया र भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
