काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले प्रशिक्षक रसको राजीनामा आएको पुष्टि गरे ।
‘म्याट रसबाट राजिनामा आएको छ । अब हामी चाँडै नै नयाँ प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउने छौं,’ महासचिव राईले खेलाडी डटकमसँग भने । ।
उनले बुधबार नै मेलमार्फत पद छाड्ने जानकारी गराएका थिए । टोलीको खराब प्रदर्शनपछि रसले नैतिकताको आधारमा पद छाड्ने निर्णय लिएको बताइएको छ ।
रस गत फागुनमा एक वर्षको सम्झौतामा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।
रसले भिसेन्जो अल्बर्टो एनेसको स्थान लिएका थिए । एनेसको सम्झौता गत वर्षको जेठमा सकिएको थियो । यसबीचमा नवीन न्यौपानेले अफगानिस्तान र ताजकिस्तानसँगको खेलमा अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
रसको नेतृत्वमा नेपालले सात अन्तर्राष्ट्रिय खेलमा एक जित, दुई बराबरी र चार हारको नतिजा निकाल्यो । रसको डेब्यू खेलमै नेपालले सिंगापुरलाई हराएको थियो त्यसपछि भने टोलीले जित निकाल्न सकेको छैन ।
