काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
ट्वान्टी-२० प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका यु-२३ टोलीहरू सहभागी हुनेछन् ।
प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ । प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दियो।
विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार, यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ।
चौधरीका अनुसार, डेभलपमेन्ट स्क्वाडमा चयनित खेलाडीले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षणको अवसर प्राप्त गर्ने छन् । साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन् ।