काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटमा शुक्रबार समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानको सामना गर्दा नेपाल समूह विजेता बन्ने लक्ष्यमा हुनेछ ।
खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको नेपाल दुई अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले सुपर सिक्समा स्थान पक्का गरिसकेको छ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, ललितनाराण राजवंशी जस्ता खेलाडीले साथ दिनेछन् ।
कुवेतविरुद्ध कुशलले ६६ रन प्रहार गर्दा सन्दीप र ललितले समान दुई विकेट लिएका थिए ।
यता कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको जापानले पनि सुपर सिक्समा स्थान पक्का गरिसकेको छ । टोली पनि नेपाललाई हराउँदै समूह विजेता बन्ने प्रयासमा छ ।
केन्डल काडोवाकी फ्लेमिङको कप्तानीमा रहेको जापान इसाम रहमान, सबौरिश रविचन्द्रन, डेक्लन सुजुकी म्याककोम्ब जस्ता खेलाडीको साथ रहनेछ ।
कुवेतविरुद्ध रहमानले ६४ रन प्रहार गर्दा म्याकोम्बले तीन विकेट लिएका थिए ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाल र जापान पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् ।