काठमाडौं । श्रीलंकाले एसिसी एसिया कपमा विजयी सुरुआत गरेको छ । टोलीले आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशलाई ६ विकेटले हरायो ।
जितसँगै समूह ‘बी’ मा श्रीलंकाले दुई अंक जोडेको छ । पहिलो पराजय बेहोरेको बंगलादेशको पनि दुई खेलबाट दुई अंक नै छ ।
पहिलो खेलमा बंगलादेशले हङकङलाई सात विकेटले हराएको थियो ।
अबुधाबीस्थित जायद क्रिकेट मैदानमा बंगलादेशले प्रस्तुत गरेको १४० रनको लक्ष्य श्रीलंकाले १४.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
श्रीलंकाका लागि पाथुम निसन्का ३४ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कामिल मिश्राले अविजित ४६ र कप्तान चरिथ अस्लंकाले अििवजित १० रन बनाए ।
बंगलादेशका लागि मेहदी हसनले दुई तथा तान्जिम हसन सकिब र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए । दोस्रो विकेटका लागि निसन्का र मिश्राले ९५ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि शमिम हुसेनले अविजित ४२, जाकिर अलीले अविजित ४१ र कप्तान लिटोन दासले २८ रन बनाए ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले दुई तथा नुवान तुषार र दुस्मन्था चमिराले समान एक विकेट लिए । छैटौं विकेटका लागि हुसेन र अलीबीच अविजित ८६ रनको साझेदारी भएको थियो ।