काठमाडौं । इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा कीर्तिमानी जित दर्ता गरेको छ ।
द रोज ओभलमा आइतबार इङ्ल्यान्डले ३४२ रनको सानदार जित निकाल्यो । यो एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो अन्तरको जित हो ।
जितका बाबजुद इङ्ल्यान्डले शृंखला भने २-१ ले गुमायो । यसअघि दक्षिण अफ्रिका सात विकेट र पाँच रनले विजयी भएको थियो ।
इङ्ल्यान्डले प्रस्तुत गरेको ४१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.५ ओभरमा ७२ रनमै समेटियो । दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले २०, केशव महाराजले १७ र ट्रिस्टन स्टब्सले १० रन बनाए ।
इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले चार, आदिल रशिदले तीन र ब्राइडन कार्सेले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४१४ रनको योगफल तयार गरेको थियो ।
इङ्ल्यान्डका लागि ज्याकब बेथलले ८२ बलमा १३ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११० रनको योगदान गरे । जो रुटले ९६ बलमा ६ चौकासहित १०० रन बनाए ।
यसैगरी जोस बटलरले अविजित ६२, जेमी स्मिथले ६२, बेन डुकेटले ३१ र विल ज्याक्सले अविजित १९ रन जोडे ।
तेस्रो विकेटका लागि बेथल र रुटबीच १८२ रनको साझेदारी भएको थियो । दक्षिण अफ्रिकाका लागि कोर्बिन बोश र केशव महाराजले समान दुई विकेट लिए ।