काठमाडौं । सोमपाल कामीको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड ट्वान्टी-२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ ।
नेपालले बुधबार काजालिस एरिनामा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हरायो ।
जितसँगै नेपालले पाँच खेलमा चार अंक जोडेको छ । पछिल्लो खेलमा होबर्ट हुरिक्यान्सविरुद्ध ६६ रनको जित निकालेको नेपाल त्यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रनमै समेटियो ।
मेलबर्नका अरुण नायरले २६, जय लेमिरेले १८, ह्यारी डिक्सनले १६ ओली पिकेले १४ र ह्यारी होएकस्ट्राले ११ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुशल भुर्तेलले दुई तथा शाहब आलम र रुपेशकुमार सिंहले समान एक हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७, रुपेशकुमार सिंहले अविजित १६ र आरिफ शेखले १२ रन बनाए ।
मेलबर्नका लागि फर्गुस ओ’ निल, क्यालम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान दुई विकेट लिए ।