काठमाडौं । टिम डेविडको शतकप्रेरित अस्ट्रलेलियाले दुई खेल अगावै घरेलु टोली वेस्ट इन्डिजविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला आफ्नो पक्षमा पारेको छ ।
वार्नर पार्कमा शनिबार सम्पन्न तेस्रो खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भयो ।
जितसँगै अस्ट्रेलिया पाँच खेलको शृंखलामा ३-० ले अगाडि बढेको छ । यसअघि अस्ट्रेलिया तीन र आठ विकेटले विजयी भएकाे थियाे ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको २१५ रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
अस्ट्रेलियाका लागि आक्रमक ब्याटिङ गरेका डेविडले ३७ बलमा ११ छक्का र ६ चौकाको मद्दतले अविजित १०२ रनको योगदान गरे । यसैगरी मिचेल ओवेनले अविजित ३६, कप्तान मिचेल मार्शले २२, ग्लेन म्याक्सवेलले २०, जोश इङ्लिसले १५ र क्यामरुन ग्रिनले ११ रन बनाए ।
पाँचौं विकेटका लागि डेविड र ओवेनले अविजित १२८ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजका लागि रोमारिया शेफर्डले दुई र जेसन होल्डरले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१४ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ५७ बलमा आठ चौका र ६ छक्काको मद्दतले अविजित १०२ रनको योगदान गरे । यसैगरी ब्रेन्डन किंगले ३६ बलमा ६ छक्का र तीन चौकासहित ६२ र शेर्फन रुदरफोर्डले १२ रन बनाए ।
पहिलो विकेटका लागि होप र किंगबीच १२५ रनको साझेदारी भएको थियो ।
अस्ट्रेलियाका लागि नाथन एलिस, मिचेल ओवेन र एडम जाम्पाले समान एक विकेट लिए ।
शृंखलाको चौथो खेल आइतबार हुनेछ ।