काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो दोस्रो खेलमा मंगलबार घरेलु टोली स्कटल्यान्डको सामना गर्दा नेपाल पहिलो जितको खोजीमा हुनेछ
खेल स्कटल्यान्डको टिटउट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा सोमबार तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलो खेल हो ।
रोहितकुमार पौडेल कप्तान रहेको नेपालले कुशल भुर्तेल, सन्दीप लामिछाने, नन्दन यादव, दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडी मैदान उतार्नेछ ।
नेदरल्यान्ड्सविरुद्ध कुशलले ३४ रन बनाउँदा सन्दीपको नाममा तीन विकेट थियो ।
यता स्कटल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।
रिची बेरिङटनको कप्तानीमा रहने स्कटल्यान्डलाई म्यु क्रस, फिनले म्याकक्रियथ, मार्क वाट, सफ्यान सरिफजस्ता खेलाडीले दिने छन् ।
नेदरल्यान्ड्सविरुद्ध म्याक्रियथले ४० रन बनाउँदा वाटले दुई विकेट हात पारेका थिए ।
नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । यसैगरी यी दुई टोली १२ वर्षपछि ट्वान्टी-२० खेलमा आमने-सामने हुँदैछन् ।
पछिल्लो पटक सन् २०१३ मा भएको खेलमा स्टकल्यान्ड आठ विकेटले विजयी भएको थियो ।