काठमाडौं । अस्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पहिलो दिनको खेल समाप्ति हुँदा दक्षिण अफ्रिका १६९ रनले पछि परेको छ ।
लर्डस क्रिकेट मैदानमा जारी खेलमा दक्षिण अफ्रिकाले पहिलाे दिन चार विकेट गुमाउँदै ४३ रन बनाएको छ । टोलीले यही स्थितीबाट बिहीबार दोस्रो दिनको सुरुआत गर्नेछ ।
दक्षिण अफ्रिकाका लागि डेविड बेडिङघम आठ र कप्तान टेम्बा बाभुमा तीन रन बनाएर खेलिरहेका छन् ।
त्यसअघि रायन रिकेल्टन १६ रन बनाउँदै पभेलियन फर्किदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्चले दुई तथा जोश हेजलउड र कप्तन प्याट कमिन्सले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया पहिलो इनिङमा २१२ रनमै समेटिएको थियो ।
अस्ट्रेलियाका लागि ब्यु वेबस्टरले ९२ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी स्टिभ स्मिथले ११२ बलमा १० चौकासहित ६६, एलेक्स केरीले २३, मार्नुस लाबुसेनले १७ र ट्राभिस हेडले ११ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले १५.४ ओभरमा पाँच मेडनसहित ५१ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी मार्को यानसनले तीन तथा केशव महाराज र एडेन मार्करमले समान एक विकेट लिए ।