काठमडौं । घरेलु टोली अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलामा पाकिस्तानविरुद्ध ‘क्लिन स्विप’ गरेको छ ।
बेलेरिभ ओभलमा सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलिया सात विकेटले विजयी भयो ।
यससँगै अस्ट्रेलियाले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसअघि अस्ट्रेलिया २९ र १३ रनले विजयी भएको थियो ।
पाकिस्तानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २७ बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी कप्तान जोश इङ्लिसले २७ र ज्याक फ्रेसर म्याकग्रुकले १८ रन बनाए ।
तेस्रो विकेटका लागि स्टोइनिस र इङ्लिसले ५५ रनको साझेदारी गरे । पाकिस्तानका लागि शहिन शाह अफ्रिदी, जहानद खान र अब्बास अफ्रिदीले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि बबार आजमले ४१, हसिबुल्लाह खानले २४, शहिन शाह अफ्रिदीले १६ र इर्फान खानले १० रन बनाए ।
अस्ट्रेलियाका लागि आरोन हार्डीले तीन, एडम जाम्पा र स्पेन्सर जोनसनले समान दुई तथा ब्राटलेट र नाथन एलिसले समान एक विकेट लिए ।