काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ‘ट्यालेन्ट हन्ट’ सम्पन्न गरेको छ ।
धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।
खेलाडी छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको थियो ।
छनोट सहभागीमा हुन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट २०० भन्दा बढी युवा खेलाडीले नाम दर्ता गराएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए । खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिनेछ ।
सुदूरपश्चिम अबका केहि दिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण गर्नेछ ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। यसैगरी टोलीले अस्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ ।
क्यानको आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।