काठमाडौं । एसिसी यु-१९ एसिया कपको तयारीमा रहेको नेपालले कर्नाटकाविरुद्धको तेस्रो अभ्यास खेलमा १२१ रनको फराकिलाे जित हासिल गरेको छ ।
जितसँगै पाँच खेलको अभ्यास श्रृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । पहिलो खेलमा कर्नाटका एक विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले सात विकेटको जित हासिल गरेको थियो । श्रृंखलाको चौंथो खेल मंगलबार हुनेछ ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याएको कर्नाटकाले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १६१ रन जोड्न सफल भयो । नेपालको जितमा नरेन साउदले सर्वाधिक चार विकेट लिए । त्यस्तै युवराज खत्रीले तीन विकेट लिँदा अपराजित पौडेलको नाममा समान एक विकेट रह्यो ।
कर्नाटकाका लागि ओपनर गगन राओले सर्वाधिक ४६ रन जोडे । त्यस्तै अर्का ओपनर प्रतीक पि र चौंथो नम्बरमा ब्याटिङ गर्न आएका शिव आरले समान २३ रनको योगदान गरे । यसैगरी मध्यक्रमका ब्याटर आदेश दि योर्स र सातौं नम्बरका ब्याटर प्रज्वल गोउदाले समान ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८२ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि तीन खेलाडीले अर्धशतक बनाए । मध्यक्रमका ब्याटर रोशन विक ८१ रनमा नटआउट रहँदा ओपनर मयन यादवले ५८ र सातौं नम्बरमा आएका उत्तम मगरले ५२ रनको योगदान दिए । त्यस्तै अर्जुन कुमालले २७ रन जोड्दा पछिल्लो खेलमा अर्धशतक प्रहार गरेका ओपनर आकाश त्रिपाठीले २६ रन बनाए । चौंथो र पाँचौं नम्बरमा आएका नरेन भट्ट र दिसाद अली क्रमशः १४ र ३ रनमा पेभिलियन फर्केका थिए ।
कर्नाटकाका लागि ध्रुव वासु र लोहीथ एसले समान दुई विकेट लिए । त्यस्तै इएसा पुथिगे र प्रनभ अस्वथको नाममा समान एक विकेट रह्यो ।