काठमाडौं। नेपाल प्रियिमर लिग (एपिएल) को फ्रेन्चाइज काठमाडौं गुर्खाजले ‘आइकोनिक प्लेयर्स’को रूपमा क्रिस कार्कीलाई छनोट गरेको छ ।
‘आइकोनिक प्लेयर्स चुनिएसँगै क्रिसले काठमाडौंबाट एपिएल खेल्ने भएका छन् ।
काँडाघारीस्थित वान डे क्रिकेट एकेडेमीमा शनिबार सम्पन्न अन्तिम छनोटमा ३२ खेलाडी थिए । त्यसमध्येबाट उत्कृष्ट बन्दै क्रिस काठमान्डौंकाे टोलीमा समेटिएका हुन्।
काठमाडौंको प्रारम्भिक चारणको खेलाडी छनोट क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) बालुवाटार, सइसी भक्तपुर, ग्रेट हिमालय क्रिकेट एकेडेमी, हात्तिवनमा सम्पन्न भएको थियो ।
काठमाडौंले ‘ट्यालेन्ट हन्ट’ बाट विपिन न्यौपाने, असिम श्रेष्ठ, अथर्व पौडेल, शारदुल भट्ट, राजेन्द्र बम र कमल गुप्तालाई पनि छनोट गरेको छ । उनीहरुले टोलीसँगै प्रशिक्षणको अवसर प्राप्त गर्नेछन् ।
यसैगरी उनीहरुलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइने छ ।
काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा काठमाडौंसहित लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।