काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज पोखरा एभेन्जर्सले ‘ट्यालेन्ट हन्ट’ मार्फत नवलपुरका सुदिप अर्यालाई ‘आइकनिक खेलाडी’ चुनेको छ ।
‘आइकोनिक खेलाडी’ चुनिएसँगै अलराउन्डर सुदीपले पोखराबाट एनपिएल खेल्न पाउने भएका छन् ।
यसैगरी पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनोट गरेको थियो। जसमध्ये उत्कृष्ट हुँदै सुदीप ‘आइकनिक खेलाडी’ चुनिएका हुन् ।
यसैगरी सुदीपसँगै स्याङ्जाका सन्दिप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर तथा तनहुँका सन्दिप पराजुली गण्डकी ‘हिरोजका रुप’ मा छनोट भएका छन् ।
‘स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि हामीले गण्डकी हिरोजको अवधारणा अघि सारेका हौँ। उनीहरुलाई पोखरा एभेन्जर्सले वर्षभरी प्रशिक्षणको अवसर दिनुका साथै स्थानीय तथा प्रदेशस्तरबाट विभिन्न प्रतियोगितामा सहभागी गराउन पहल गर्नेछ,’ अध्यक्ष त्रिपाठीले भने ।
पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठ घरेलु क्रिकेटको विकासका लागि गण्डकी हिरोजको अवधारणले टेवा पुर्याउने बताउँछन् । ‘गण्डकी हिरोजका रुपमा छनोट भएका खेलाडीलाई प्रशिक्षित गर्दै स्थानिय खेलाडीको स्तर वृद्धिमा जोड दिनेछौँ,’ श्रेष्ठले भने ।
टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।
पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।