काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले चौथो विदेशी खेलाडीका रूपमा वेस्ट इन्डिजका बलर रोमोन सिमन्ड्सलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत २० वर्षीय सिमन्ड्सलाई अनुबन्ध गरेको जानकारी दियो ।
आइसिसी यु–१९ विश्वकपमा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका सिमन्ड्ले सिनियर टोलीका लागि भने खेल्न पाएका छैनन् । उनले १२ ट्वान्टी २० खेलमा १० विकेट लिएका छन् ।
‘नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करिअरको एक रोमाञ्चक अध्याय हो । नेपालीको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो हेर्न आतुर छु,’ सिमन्ड्सले अनुबन्धपछि भने ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सिमन्ड्सको आगामनले उत्साह थपेको प्रतिक्रिया दिए । ‘हामी रामोन सिमन्ड्सलाई लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा निकै खुसी छौं । उनको बलिङ टिमको लागि अत्यन्त महत्वपूर्ण हुनेछ भन्नेमा विश्वस्त छौं । उनको युवा जोसले हाम्रो सम्पूर्ण टिम र विशेष गरी हाम्रा युवा खेलाडीलाई प्रेरणा दिनेछ ।’
यसअघि टोलीले इङ्ल्यान्डका विकेटकिपर ब्याटर थोमस मुर्स, अस्ट्रेलियन अलराउन्डर बेन कटिङ र भारतीय मुलका अमेरिकन विकेटकिपर ब्याटर उन्मुक्त चन्दलाई भित्र्याएको थियो ।
लुम्बिनीको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल छन् । यसैगरी टोलीले नन्दन फडनिसलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।