काठमाडौं । नेपाल प्रियिमर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पाँचौ विदेशी खेलाडीका रूपमा इङ्लिस अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको छ ।
क्लबले सामाजिक सञ्जालमार्फत इङ्ल्यान्डका लागि तीनै शैलीको क्रिकेट खेलिसकेका ३९ वर्षीय बोपारालाई अनुबन्ध गरेको जानकारी दियो ।
बोपाराले इङ्ल्यान्डका लागि ३८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा तीन अर्धशतकसहित ७११ रन प्रहार गरेका छन् । उनको नाममा १६ विकेट पनि छ ।
बोपारासँग इङ्ल्यान्ड, भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंकाजस्ता देशका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको टोलीले यसअघि दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्ग, इङ्ल्यान्डका ल्युक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टी इटनलाई भित्र्याएको थियो ।
चितवनको मार्की खेलाडी राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल छन् । टोलीले राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।