काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले चौथो विदेशी खेलाडीका रूपमा भारतका ब्याटर शिखर धवनलाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सले बिहीबार भारतका लागि तीनै शैलीका क्रिकेट खेलिसकेका ३८ वर्षीय धवनलाई अनुबन्ध गरेको जानकारी दियो । धवनले ६८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ११ अर्धशतकसहित १ हजार ७५९ रन बनाएका छन् ।
सम्झौतामा धवन र कर्णालीका मालिक झनक दत्त खनालले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ ।
सम्झौता कार्यक्रममा भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरेको पनि उपस्थिति थियो ।
धवनले दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट इन्डियन प्रिमियर लिग( आइपिएपल) खेलेका छन् ।
धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले यो नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णालीलाई मात्रै नभएर नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास छ ।’
भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि राम्रो सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै कर्णाली याक्सलेकर्णाली याक्सले पर्यटन प्रवद्र्धनमा राम्रो सुरुआतत गरेको छ,’ थापाले भने ।
सह-मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीका बबजुद धवनलाई अनुबन्ध गर्न सफल भएको बताए । ‘आर्थिक चुनौतीका बाबजुद विश्व क्रिकेटकै प्रसिद्ध खेलाडी शिखर धवनलाई आगामी लिगको लागि अनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपाली क्रिकेट र कर्णाली याक्सले सफलता हात पार्ने आशा गरेका छौं ।’
धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको टोलीले यसअघि वेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका मोहम्मद हुसेन तलात र हङकङका बाबर हायतलाई भित्र्याएको थियो ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।