काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा अस्ट्रेलियाले सात विकेटको सहज जित निकालेको छ ।
नोटिङ्घमस्थित ट्रेन्ट ब्रिज मैदानमा बिहीबार इङ्ल्यान्डले प्रस्तुत गरेको ३१६ रनको लक्ष्य अस्ट्रेलियाले ४४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
अस्ट्रेलियाका लागि ट्रभिस हेडले १२९ बलमा २० चौका र पाँच छक्काको मद्दतले अविजत १५४ रनको योगदान गरे । यसैगरी मार्नुस लाबुसेनले ६१ बलमा सात चौका र दुई छक्काको मद्दले अविजित ७७, स्टिभ स्मिथ र क्यामरन ग्रिनले समान ३२ तथा कप्तान मिचेल मार्शले १० रन बनाए ।
हेडले चौथो विकेटका लागि लाबुसेनसँग अविवित १४८ र तेस्रो विकेटका लागि ग्रिनसँग ७३ रनको साझेदारी गरे । यसैगरी दोस्रो विकेटका लागि ग्रिन र स्मिथबीच ७६ रनको साझेदारी भयो ।
इङ्ल्यान्डका लागि म्याथ्यु पोट्स, लियम लिभिङ्स्टोन र जाकोभ बेट्हिलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै ३१५ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि बेन डुकेटले ९१ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ९५ रनको योगदान गरे । यसैगरी विल ज्याकले ५६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ६६, कप्तान ह्यारी ब्रुकले ३९, जाकोब बेट्हिलले ३५, जिमि स्मिथले २३, फिल साल्टले १७, लियम लिभिङ्स्टोनले १३ र म्याथ्यु पोट्सले अविजित ११ रन बनाए ।
दोस्रो विकेटका लागि डकेट र ज्याकबीच १२० रनको साझेदारी भयो ।अस्ट्रेलियाका लागि एडम जाम्पा र मार्नुस लाबुसेनले समान तीन, ट्रभिस हेडले दुई तथा बेन द्धारशुइस र म्याथ्यु शर्टले समान एक विकेट लिए ।
जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।